♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता
प्रारम्भिक जीवन
बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ काठमाण्डौमा पिता ज्ञानमान सिंह र माता सानुनानी श्रेष्ठ सिंहको पुत्रको रुपमा गणेशमान सिंहको जन्म भएको थियो । बाल्यकालमा उनी उदण्ड, निडर, स्वाभीमानी एवं बिद्रोही स्वभावका थिए । उनको जीवन जति संधर्षमय थियो, त्यतिनै रोचक र रोमाञ्चक पनि छ । काठमाडौको रैथाने कुलीन परिवार दरवारको काजी खलकमा जन्मिएर लाडप्यारमा हुर्किएका थिए नेपाली कांग्रेसका संथापक लौहपुरुष । उनका बुबा तथा हजुर बुबाको चाँडै निधन भएको थियो । उनले आइ.ए.सम्म अध्ययन गरेका थिए । मंगलादेवी सिंह गणेशमान सिंहकी जीवन संगिनी हुन ।
गणेशमानले सत्र बर्षको उमेरमै मुलुकी अड्डामा बहिदारको जागीर समेत खाएका थिए । त्यसैगरी काठमाडौ जेलबाट भागेपछि कलकत्तामा र पाइलट वन्ने ईच्छाबाट निर्देशित भई एयर फोर्समा भर्ना हुन लाहौर समेत पुगेका थिए तर उचाई नपुगे पछि भर्ना हुन सकेनन् । उनले सिक्कीममा कृष्णबहादुर प्रधानको छद्य नाममा टाइपिष्टको नोकरी पनि गरेका थिए ।
गणेशमान सिंहको राजनीतिक जीवन
गणेशमान सिंहले राणा शासनलाई घृणा गर्दथे । उनी भारतका महात्मा गान्धीका बिचार र भारतीय स्वतन्त्रता संग्राम तथा नेपालका शुक्रराज शास्त्रीको सामाजिक आन्दोलनबाट अत्यन्त प्रभावित थिए । गणेशमान कलकत्तामा अध्ययनरत रहँदा देखिनै उनमा राजनीतिक चेतनाको बिस्तार भएको थियो । गणेशमान सिंह वि.सं. १९९७ (सन् १९४०) मा नेपालमा गठित पहिलो राजनीतिक संगठन नेपाल प्रजापरिषदको संस्थापक सदस्य भएका थिए । वि.सं. १९९७ कार्तिक २ (१९३० अक्टोबर १८) मा पर्चा वितरण गरेको पर्चा अभियोगमा गिरफ्तार भई राजकाज मुद्दामा फाँसीको सजाय समेत भै सकेका उनलाई सर्वश्वहरण सहित आजीवन कारावासमा परिणत गरिएपछि भद्रगोल जेल चलान गरिएको थियो । कारागारमा बसेर केही नहुने महसुस गरी गणेशमान सिंह बि.सं.२००१ आषाढ ७ ( तदनुसार सन् १९४४ जुन २०) मा जेलबाट फरार भए । उनी बुटवल हुँदै कलकत्ता पुगे । भारत पुगेपछि इ.सं १९४६ अक्टोबर ४ को नेपाल आव्हान पछि गणेशमान सिंहको वी.पी.संग कलकत्तामा पहिलो भेट भएको थियो । त्यसै गरी उनको कृष्णप्रसाद भट्टराई संग वनारसमा भेट भएको थियो । गणेशमान सिंहले महात्मा गान्धीलाई पनि २००४ भाद्र ०६ (इ.सं.१९४७ अगस्त २२) मा कलकत्तामा भेट गरेका थिए ।
गणेशमान सिंह वि.सं.२००३ (सन् १९४६) मा कृष्णबहादुर प्रधानकै नामबाट नेपाली राष्ट्रिय कांग्रेसमा प्रबेश भई पार्टीको कार्यकारी सदस्य समेत भएका थिए । उनले पार्टीको सत्याग्रह आन्दोलनमा इलाममा नेतृत्व गरेका थिए । वि.सं.२००६ साल (सन् १९४९) मा उनी झरोवर काण्डको सिलसिलामा गिरफ्तार भई भारतको मोतिहारी जेलमा पनि परेका थिए । सशस्त्र जत्था लिएर नेपाल आएका उनलाई साथीहरु पक्राउ भएपछि नेपाल छाड्नु प¥यो । नेपालबाट बि.सं २००६ असोज (सन् १९५०) मा भारत तर्फ फरार हुँदै गर्दा उनलाई ठोरीमा पक्राउ गरियो र सेन्ट्रल जेलमा राखियो । त्यस समयमा उनले सेन्ट्रल जेलको कठोर यातना समेत भोगे । सोही साल चैत्रमा नेपाली कांग्रेस कार्य समितिको सदस्य निर्वाचित पनि भए । बि.सं.२००७ साल फागुनमा गठित राणा कांग्रेस सरकारमा र सो सरकार बिघटन भई त्यसपछि मात्रृका प्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकार तथा २०१६ मा वी.पी.को नेतृत्वमा गठन भएको पहिलो जननिर्वाचित मन्त्रीमण्डलमा पनि गणेशमान सिंह मन्त्री नियुक्त भएका थिए ।
२०१७ साल पौष १ मा राजा महेन्द्रद्वारा जननिर्वाचित सरकारलाई अपदस्थ गरी संसद बिघटन गरियो । यस घटनामा नेपाली कांग्रेसका अधिकांस नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरियो । यसमा गणेशमान सिंह पनि पक्राउ परे । यो पक्राउ पछि ८ बर्षसम्म सुन्दरीजल जेलमा उनले जेल जीवन व्यतित गर्नु पर्यो । बि.सं.२०२५ कार्तिक १४ गते जेल मुक्त भएको, एकबर्ष पछि उनी भारत निर्वासनमा गए । गणेशमान सिंह पनि २०३३ पौष १६ मा राष्ट्रिय मेलमिलापको नीति लिएर वी.पी.स्वदेश फिर्ता हुँदा संगै स्वदेश फर्के । उनी लगायत राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका सवै व्यक्तिहरुलाई हवाई अड्डाबाटै पक्राउ गरियो र पुनः सुन्दरीजल जेलमा राखियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय दवाब पछि उनीहरु वि.सं. २०३५ आषाढ ४ मा जेलमुक्त भएका थिए । “निर्वासनमा बसीरहनु भनेको हामीले मन्दविष पीएर आफ्नो अस्तित्व विसर्जन गर्नु हो, मेलमिलापको नीति बोकेर स्वदेश फर्कनु भनेको राजाको टांगमुनी छिर्नु हो । यो धर्म संकटको त्यो बखतमा मैलेचाँही मेलमिलापको नीतिलाई एउटा प्रयोगको रुपमा मात्र लिएको हूँ” गणेशमान सिंहले भन्नु हुन्थ्यो । राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको मुख्य पक्ष नेपालको परिवर्तनमा विदेशीको हात रहुनु हुँदैन, राष्ट्रियता र लोकतन्त्र एक अर्काका परिपूरक हुन, राष्ट्रियता कमजोर वनाएर लोकतन्त्रको भविष्य हुँदैन, लोकतन्त्र नभई राष्ट्रियता मजबुत हुन्न भन्ने थियो । वी.पी.को स्पष्ट नीति राष्ट्रियताको सवालमा राजासंग सहकार्य र प्रजातन्त्रको मामलामा राजासंग संघर्ष थियो ।
गणेशमान सिंह र उनले निर्वाह गरेको जिम्मेवारी
►वि.सं.२००६ चैत्र तदनुसार सन् १९५० मार्चमा नेपाली कांग्रेस कार्य समितिको सदस्य निर्वाचित ।
►२००७ फागुन ७ गते गठित राणा कांग्रेस मन्त्रीपरिषदमा उद्योग तथा बाणिज्य मन्त्री नियुक्त ।
►२००८ मार्ग १ मा गठित मात्रृकाप्रसाद कोईराला मन्त्रीपरिषदमा कृषि, पशुबिकास र भुमिसुधार मन्त्री ।
► २०१६।२।१३ मा वी.पी.कोईरालाको नेतृत्वमा गठित जन निर्वाचित कांग्रेस सरकारमा मालपोत विकास, निर्माण तथा सञ्चार र नहर मन्त्री ।
►विर्ता उन्मुलन मस्यौदा समितिका संयोजक,
►२०१३ मा मुम्बईमा र २०१४ मा नेपालको शितल निवासमा भएको अफ्रो एशियाली समाजबादी सम्मेलनमा सहभागी ।
गणेशमानको दृष्टिकोण, त्याग र बहिर्गमन
२०३७ को जनमत संग्रहको समयमा गणेशमान सिंहले पूर्वाधार खडा नगरी जनमत संग्रहमा भागलिन नहुने दृष्टिकोण व्यक्त गरेका थिए । तर उनको सो दृष्टिकोण कार्यान्वयन भएन । पार्टीले जनमत संग्रहमा भाग लियो । तत्कालिन सरकारले जनमत संग्रहको नतिजा पञ्चायतकै पोल्टामा हाल्यो ।
यसै बीच २०३९ श्राबणमा बि.पि.कोईरालाको देहावसान भएपछि गणेशमानको नेतृत्वमा २०४२ सालमा सत्याग्रह तथा वि.सं.२०४६मा जनआन्दोलन सम्पन्न भयो । सो जनआन्दोलनकै फलस्वरुप बहुदलीय व्यवस्थाको पुनस्र्थापना पनि भयो । २०४६ सालको आन्दोलन पछि गणेशमान सिंह सर्वमान्य नेता तथा सर्बोच्च प्रजातन्त्रबादी नेता जस्ता बिशेषणबाट सम्मानित भएका थिए । २०४६ सालको आन्दोलन पछि पाएको प्रधानमन्त्री पदलाई स्वेच्छाले त्यागेर आफ्ना सहयोद्धा नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई उनले खुशीसाथ सुम्पिएका थिए । कृष्णप्रसाद भट्टराईकैे नेतृत्वमा अन्तरिम मन्त्रीपरिषद गठन भएको थियो । सोही समयमा संविधान निर्माण र पहिलो संसदीय निर्वाचन समेत सम्पन्न भयो ।
गणेशमान सिंह नेपालमा प्रजातन्त्रका लागि जीवनभर अथक रुपले लागि रहे । लोकतान्त्रिक पद्धति र संस्कारका लागि पार्टी भित्र पनि संधर्ष गरे । उनले २०४८ को निर्वाचन पछि नेपाली कांग्रेसको सरकार गठन भएपछि राजनीतिक नियुक्तिहरुमा सन्तुलित, समानुपातिक र समावेशी व्यवहार अपनाउने र चुनावमा पराजित भएकालाई लाभको पदमा नल्याउने प्रस्ताव राखे । उनले उठाएका प्रश्नहरु प्रजातन्त्रमा सवै जात जातिका, सवै लिंगका, सवै धर्मका, सवै बर्गका र सवै क्षेत्रका बासिन्दाले यो मेरो व्यवस्था हो भनि आत्मसात गर्न सक्ने वनाउन आवश्यक छ भन्ने थियो । तर उनले उठाएका कुराहरु त्यसबेलाको नेपाली कांग्रेसका सरकारबाटै लागु गरिएनन् ।
जीवनको उत्तरार्धमा नेपाली कांग्रेस भित्र आन्तरिक विग्रह सृजना भयो । सोही आन्तरिक विग्रहका कारण लोकतान्त्रिक पद्धति र संस्कारका लागि जीवनभर संधर्ष गरेका लौह पुरुष गणेशमान सिंहले मन दुखाए । फलस्वरुप असन्तुष्ट भई २०५१ भाद्र ३१ गते पार्टी परित्याग गरी उनी पार्टिबाट अलग भए । अन्तमा वि.सं २०५४ असोज २ गते उनको मृत्यु भयो ।
बिद्वत वर्गको नजरमा गणेशमान सिंहको व्यक्तित्व
१. कट्टर सिद्धान्तबादी, प्रजातन्त्रका अथक योद्धा, बरिष्ठ प्रजातन्त्रबादी नेता, प्रखर राष्ट्रबादी, महान देशभक्त, जननेता, आर्थिक क्रान्तिका पक्षधर तथा व्यवहारिक राजनेता ।
२. उहाँको बानी व्यहोरा अत्यन्त सरल थियो । साथसाथै उहाँ अत्यन्त कठोर पनि हुनु हुन्थ्यो (डेढ बर्ष सम्म कसंलाई भेट्नु भएन) । आफ्नो काम आँफै गर्नु पर्छ भन्ने कुरा व्यवहारमै उतार्नु हुन्थ्यो । उहाँ अरुको दुखः देख्न नसक्ने, त्यस्तालाई सकेको सहयोग गर्ने गर्नु हुन्थ्यो । राजनीतिक सिद्धान्त र आदर्श प्रति उहाँको कडा अडान थियो । उहाँले २०४६ साल पछि आर्थिक क्रान्ती गर्नु पर्छ र समाजमा अवसर नपाएकालाई अवसर दिनुपर्छ भन्नु हुन्थ्यो । ठुलो मान्छे हुनका लागि दृढ निश्चयी हुनु पर्छ भन्ने कुरा उहाँबाट सिक्न सकिन्छ ।
३. लोकतन्त्रका जाज्वल्यमान तारा, नेपालमा लोकतान्त्रिक आन्दोलनका इतिहास निर्माता, सर्बमान्य राजनेता । साहस, वीरता र इमान्दारिबाट बनेको उहाँको जीवन आजको पुस्ताको लागि प्रेरणादायी छ ।
उनी प्रजातन्त्र बहाली र पुनर्बहालीकोलागि संघर्षका हिसावले वी.पी. कोइराला भन्दा बढी अवधि संम्म समर्पित, सैद्धान्तिक हिसावले वी.पी.का कट्टर समर्थक थिए ।
४. गणेशमान सिंह नसोची कहिल्यै नवोल्ने र बोली सकेपछि त्यसैमा टिक्नु हुन्थो ।
७.गणेशमान सिंहको व्यक्तित्वका आयाम ः स्पष्टबादिता, निर्भिकता, साहसिक र निस्वार्थ । प्रजातन्त्र प्रति अबिचलित आस्था र विश्वास (गुण), आदर्श मूल्य मान्यतामा आधारित राजनीतिक संस्कार र सस्कृति बसाल्न समर्पित नेता, जनतालाई भरोसा गर्न र भरोसा दिलाउन जानेका कर्मयोगी नेता ।
९.नेपालको राजनीतिक एकीकरण गर्ने पृथ्वी नारायाण शाह, नेपाललाई भाषागत रुपमा एकीकरण गर्ने आदिकवि भानुभक्त आचार्य र प्रजातान्त्रिक रुपले एकीकरण गर्ने महापुरुष मध्येका एक गणेशमान सिंह हुनुहुन्छ ।
१०. गणेशमान सिंहको जीवन त्यागको पर्यायबाची हो । उनको आर्थिक क्रान्ति महंगीमा राहत र रोजगारी, भष्टाचार र गरिवीको अन्त्य, दीर्घ जलस्रोतको सदुपयोग, कृषि क्षेत्रको विकास, उत्पादनमा बृद्धि र न्यायोचित वितरण ।
११.गरिव कमजोरले पनि राज्यलाई आफ्नो ठान्ने व्यवस्था स्थापित होस भन्ने ठान्थे गणेशमान । राजनीतिकर्मीहरु तुच्छ र अदूरदर्शी भएपछि जनताले सकस भोग्नु पर्छ । अहिले भोग्नु परेको गरिवी, अशान्ति र विखण्डनको कारक राजनीतिक नेतृत्वको कमजोरी नै हो ।
१२.गणेशमानको विकास मोडल समानुपातिक र समावेशी अर्थात Social Engineering (सामाजिक अभियान्त्रिकरण) थियो ।
उपसंहार
नेपाली कांग्रेसको आदर्श, मूल्य र मान्यता राष्ट्रियता, लोकतन्त्र र समाजबाद रही आएको तथ्य सर्वबिदित नै छ । नेपाली कांग्रेसले यीनै आदर्श, मूल्य र मान्यतामा आधारमा न्यायपूर्ण गतिशील र समतामूलक समाजको स्थापना गर्ने, नेपाललाई सभ्य, सुखी र सम्पन्न रुपमा स्थापित गर्ने प्रतिवद्धताका बिषय दस्तावेजहरुमा उल्लेख गरेको छ । बर्तमानमा एकातिर आँफूले सिन्को नभाच्ने पूर्वजहरुले गरेको कार्यको व्याजमा रमाउने प्रवृत्ति हावी भएको छ भने अर्कोतर्फ गुटबन्दीेको विजारोपण नराम्रो संग मौलाएको पाइन्छ । नेतृत्वबाट यस्तो बिग्रहलाई सम्बोधन गरी पार्टीलाई एकताबद्ध र सुसंगठित गराउनेतर्फ आबश्यक पहल गरिनु पर्ने हो । हालका नेतृत्व तहबाट त्यस प्रकारको ठोस पहल गरिएको पाइन्न । गरिएका भए के कस्ता कार्यहरु गरिए वा गरिदै वा गर्न लागिएको छ ? सो विषय जनसमक्ष स्पष्ट आउनु जरुरी छ ।
हुन त नेपाली कांग्रेस भित्र समय समयमा थरी थरीका अवसर परस्त र स्वार्थी गुट, उपगुट, समूह,उपसमूह तिव्ररुपमा सिर्जना हुने आन्तरिक विग्रहजन्य रोग साविक देखिकै हो भन्ने तथ्य कसैबाट छिपेको छैन । स्वयं गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई समेत यस्ता विग्रहको चपेटामा परेको दृष्टान्त छ । बिधानको उद्देश्य अनुसार नेपाललाई सभ्य, सुखी र सम्पन्न तुल्याउन राजनीतिक पार्टीहरुले पार्टी भित्र आन्तरिक विग्रह सिर्जना हुन दिनु हुँदैन र सिर्जना भै हाले त्यसलाई सच्याई हाल्नु पर्ने हो । तर, त्यसो नगरी केन्द्र देखि स्थानीयतहसम्म नेताहरु आआफ्नो गुट, उपगुटमा विभाजित भै यदुबंशी झैं परस्परमा कलह र तानातानमा रमाउने प्रबृत्ति हाबी छ । फलस्वरुप यो वा त्यो गुट उपगुटको चिरा ग्रामीण तहसम्मै देखिन्छ । यस्तो कथनी र करनी बीचको अन्तरको अवस्थाले अग्रजहरुले योगदानको अवमूल्यन र शुभेच्छु मतदाता प्रति बिश्वासघात समेत हुन गएको छ । यो समस्यालाई सवै तहका नेतृत्व वर्गबाट यथोचित संबोधन गरिनु पर्छ ।
र अन्त्यमा बर्तमानका कांग्रेसी नेता तथा कार्यकर्ताहरुबाट वी.पी.कोइराला, गणेशमान सिंह एवं कृष्ण प्रसाद भट्टराईको त्याग, समर्पण, आदर्श र उनीहरुको योगदानको कदर हुन नसकेको महसुस भएको छ । गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा वर्तमानका नेतृत्व वर्गलाई अग्रजहरुकोे योगदानलाई कदर गर्न, उनीहरुकै आदशर्, मूल्य, मान्यता र सिद्धान्तमा आधारित उद्देश्यमूलक राजनीतिको माध्यमबाट नेपाल र नेपालीलाई सबल, सुखी र सम्पन्न तुल्याउने दिशामा अग्रसर हुने प्रेरणा मिलोस । अस्तु ।
लेखक समसामयिक बिषयमा प्रष्ट खबरमा कलम चलाउनुहुन्छ ।
१८ मंसिर, हेटौंडा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय...
१८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र...
१७ मंसिर, हेटौंडा। हेटौंडा १२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको शपथग्रहण कार्यक्रम सम्पन्न...
१७ मंसिर, हेटौंडा । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्...
१७ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचन अन्तरगत मतगणना जारी छ । सिद्धार्थ मावि...
१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ । सिद्धार्थ मावि...
१६ मंसिर, हेटौंडा । कालिकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्कराज शाही विजयी...
१० मंसिर, हेटौंडा। आइतबार राति नारायणगढ(मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा मकवानपुरका २ सहित ३ जनाको मृत्यु...
८ मंसिर ,हेटौंडा । आज दिनभर हेटौंडा–१,९,११ आसपासको क्षेत्रमा १२ घण्टा बत्ती नहुने भएको छ। नेपाल विद्युत...
१३ मंसिर, हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको...
१३ मंसिर, हेटौंडा। हेटौंडामा घरको छतबाट लडेर गम्भीर घाइते पुरुषको उपचारको क्रममा ज्यान गएको छ । बिहीबार दिउँसो...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
७ मंसिर, हेटाैंडा । मकवानपुरको हेटौंडा-१५ स्थित चुरियामाई मन्दिर नजिकै पुर्व पश्चिम सडक खण्डमा एउटा यात्रुवाहक...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
७ मंसिर, काठमाडौं । काठमाडौँको कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार १० बजेर ४६ मिनेटको समयमा...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...