संकेत कोइराला
बाँस र तामा परस्पर गफिँदै थिए ।
तामा : बा ! म आकास छेड्छु ।
बाँस : लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैं भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक ।
तामा : तपाईं त निहुरिनु भो नि त !
बाँस : तिम्रो उमेरमा म पनि तिम्रोजस्तै सोच्थें । उचाई लिँदै जाँदा चराचर देख्दै गएँ । तत्वबोध भो, तामस अररो हुन्छ र टिक्दैन । ज्ञान शालीन हुन्छ तर टिक्छ । प्रारब्ध बुझ्दै गएपछि सब कुरा थाहा हुन्छ बाबु ।
नेपालको राजनीतिमा थुप्रै तामाहरु बाँस बनेका छन् । अनि बाँस भएपछि फेरि तामा बन्न खोज्नेहरुको धृष्टता पनि उस्तै निर्लज्ज ढंगमा प्रकट भइरहेको छ । बाउअघि राजा भएका ज्ञानेन्द्र राजाको पदवी खोसिँदा पनि उच्च संस्कारयुक्त कदबाट एक कदम पछाडि हटेका छैनन् । तर नीतिशास्त्रमा सवैभन्दा ठूलो दान मानिने मतदानको अभिभारा बोकेका नेताहरु राग, आग्रह र पूर्वाग्रहको सुरुङबाट निस्कन सकेका छैनन् । जनताको खुट्टाले दुख पाएर राजनीतिक परिवर्तन आयो तर भूमिकै नभएको नेताहरुको छातीले तक्मा थाप्यो । उनीहरुको कार्यशैलीमाथि प्रश्न धेरै छन, तर उत्तर छैन् । भएको उत्तर पनि अपुरो छ ।
महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरुको नाउँ कहाँ छ ? रामायणमा ती सवै दानव र बाँदरहरुको नाम कहाँ छ ? सिंहदरवार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरुको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीहरुको नाउँ कहाँ छ ? नाउँ छ त कौरव र पाण्डवहरुको । नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् भीमसेन थापा । हुन पनि इतिहास जित्नेहरुको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ ।
जीवनको स्वाद प्रकृतिसंग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ । घडीको सूईसंगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबीच कति फरक होला ? शायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्ति खोज्दै गंगाको किनारमा गेरु बस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् । आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो । मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ । मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ?
संसार आफैंमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खानामा हैन, जीब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरु उहिरहेकै छन् । बादलहरु विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदानहरु छन् । त्यही नजिक उठेका हिमालहरु छन् । अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे भैंm हिमालयहरु छन् । रात खुम्चिदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन विहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति झैं खुम्चिन र फक्रिन पुग्छ । दिउँसोको स्निग्ध आकास होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफुलाई आकर्षक बनाउने आकास होस, ती सवै शोभायमान छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरु बर्साइरहेका छन् । जति हेर्यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरु, सौन्दर्यकृत प्रकृतिका उपहारहरु त्यसै त्यसै नष्ट भइरहेका छन् ।
ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने उर्जा प्रकृतिको अजस्र धारा हो, धारा । शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झम्झम् र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन् । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नविन अनुभूतिको आलोक खुलिरहन्छ । आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ । यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आफुसंग केही कविता हुनैपर्छ ।
संगीतको धून सुन्न आफुभित्र तरंग हुनैपर्छ । सात समुद्र पारीबाट आएका पर्यटकहरुले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्वीर उतार्छन् तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौं । सौन्दर्य पिउन आफुभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आफु नियन्त्रित आजको मान्छे आफैं निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस् , अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि उ आफुमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ । हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन् । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन् ।
हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ ।
जनआस्थामा प्रकाशित
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...
२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...
२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...
२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...